'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

April 23, 2007

माओवादीले लोकतन्त्र दिवस बहिष्‍कार

सरकारले सार्वजनिक बिदा दिएर भोलि लोकतन्त्र दिवस मनाउन लागे पनि माओवादीले भने पूर्णलोकतन्त्र नआएको भन्दै सो दिवस नमनाउने भएको छ। ‘संसदबादी दलले राजा राख्ने सम्झौता गरेको’ दिनलाई कसरी ‘लोकतन्त्र दिवस’ भन्न सकिन्छ, बिहान महानगरको सम्पर्कमा आएका एक माओवादी केन्द्रीय सदस्यले भने- ‘सम्झौताको पुष्टि एक वर्ष’को क्रियाकलापले गरिसकेको उनको दाबी छ। माओवादीको भनाइ छ- ‘पूर्णलोकतन्त्र आएपछि भव्य रूपमा दिवस मनाउने छौँ।’

यसैबीच, मुलुकमा लोकतन्त्र स्थापना भएपछि पहिलो लोकतन्त्र दिवस भव्य रूपमा मनाउन आजदेखि सरकार र नागरिक समाजले छुट्टाछुट्टै कार्यक्रम तय गरेका छन्। आजदेखि लगातार तीन दिनसम्म मनाइने लोकतन्त्र दिवसमा सरकारले सबै सरकारी कार्यालयमा साँझ दीपावली गर्ने भएको छ भने सर्वसाधारणले पनि घरघरमा दीपावली गर्दै खुसीयाली मनाउन सरकारले आह्वान गरेको छ।

भोलिको दिन जनआन्दोलनले सफलता हासिल गरेको दिन भन्दै सरकारले बिहान १०:३० बजे सैनिक मञ्च टुँडिखेलमा सम्पूर्ण सरकारी, अर्धसरकारी र सर्वसाधारणलाई भेला हुन सूचित गरेको छ। भोलि सरकारले हेलिकोप्टरबाट पुष्प वर्षा गर्नेछ। सैनिक परेड, धून, कवाजसमेत प्रदर्शन गर्ने जनाएको छ। सरकारले कर्मचारीलाई पहिलो लोकतन्त्र दिवस मनाउन भोलि सरकारी बिदासमेत दिने भएको छ। त्यसैगरी सरकारले जनआन्दोलनका घाइतेलाई भोलि परिचयपत्र प्रदान गर्ने भएको छ।

यसैगरी लोकतन्त्र दिवसका अवसरमा सहिदका नाममा विभिन्न सङ्घसंस्थाले तीनै दिन पूजापाठ लगाउने भएका छन्। यता नागरिक समाजले पनि देशभर नै दललाई सचेत तुल्याउँदै लोकतन्त्रको आन्दोलन जारी छ भन्ने मूल नारा लिएर कार्यक्रम गर्ने भएको छ। आज दिउँसो १ बजे राजधानीको प्रज्ञा भवनमा समाजले गतवर्षको समीक्षा गर्न विचार गोष्ठीको आयोजना गर्दैछ।

गोष्ठीमा नागरिक समाजका अगुवाले दललाई खबरदारी गर्दै लोकतन्त्र आएको एक वर्षमा कहाँ के-के त्रुटि भयो भन्नेतर्फ ध्यान दिने आग्रह गर्ने भएका छन्। गोष्ठीमा जनचाहनाको मूल लक्ष्य बनेको संविधानसभाको निर्वाचन जेठ/असारमा किन हुन सकेन भन्नेबारे समीक्षासमेत गर्ने बताइएको छ।

त्यसैगरी आजै साँझ माइतीघर मण्डलामा जनआन्दोलनका बेला बनाइएका वृत्तचित्र र फोटो प्रदर्शनी गरिनेभएको छ। नागरिक समाजले भोलि वसन्तपुरमा विशाल नागरिक सभा गर्ने जनाएको छ।

September 25, 2006

हराएको हेलिकोप्‍टरका सम्‍पूर्ण यात्रुको निधन भएको पुष्‍टी

ताप्लेजुङमा शनिबारदेखि हराइरहेको हेलिकप्टरमा वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राईसहित अन्य २४ जना स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरुको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ l हेलिकप्टरका यात्रुहरुमध्ये एउटा शव मात्र चिनिने अवस्थामा रहेको र अरु शव यत्रतत्र छरिएको अवस्थामा पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय समितिले  जनाएको छ l  ताप्लेजुङको धुन्साबाट ५ मिनेटकै दुरीमा रहेको एउटा पहाडमा ठोक्कीएर उक्त हेलिकप्टर दुर्घटना भएको थियो । घटनास्थल वरिपरी लासहरु यत्रतत्र छरिएर रहेको उद्वार कार्यमा संलग्न उद्धारकर्ताहरुले जनाएका छन् ।

हेलिकोप्टर दुर्घटनामा परी वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई, उहाँकी पत्नी मीना राई, वन तथा भू-संरक्षण मन्त्रालयका कामु सचिव डा. दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायण पौडेल, वन विभागका महानिर्देशक शरद राई, नेपालका लागि फिनल्याण्डका कार्यबाहक राजदूत पाउली मस्टोनेन, युएसएडका उपनिर्देशक मार्गरेट अलेक्जेन्डर र कार्यक्रम विकास विशेषज्ञ डा. विज्ञान आचार्य, डब्लुडब्लुएफ युकेका संरक्षण निर्देशक डा. जिल बाउलिङ्ग र संयोजक जेनिफर हेड्ली, डब्लुडब्लुएफ युएसएको इएचइसीका प्रबन्ध निर्देशक मिङ्मा नोर्बु शेर्पा र कार्यक्रम अधिकृत म्याथ्यु पि्रस, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. चन्द्र गुरुङ, सल्लाहकार डा. हर्क गुरुङ, एएसआरएसजीका उपसभापति डा. तीर्थमान मास्के, डब्लुडब्लुएफ नेपालका यसी लामा, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य विजय श्रेष्ठ, नेपाल टिभीका हेमराज भण्डारी र सुनील सिंह, केसीएएमसीका अध्यक्ष दावा छिरिङ्ग र चालक दलका क्याप्टेन मिङ्मा शेर्पा, तन्डु श्रेष्ठ र रुसी नागरिक एस. भ्याल्लेरी र के. किमको मृत्यु भएको छ।
अहिले पानी परिरहेको र मौसम खराब भएका कारण शवलाई ताप्लेजुङतर्फ ल्याउन नसकिएको पनि कार्यालयले जनाएको छ ।

प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरिया बिशिष्‍ट स्व‍देश तथा बिदेशी ब्‍यक्तिहरुको निधनमा शोकसन्‍तप्‍त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माहरुको चिरशान्तिका लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters