मलेसियामा साढे नौ सय नेपाली कामदार अलपत्र
विभिन्न रोजगार कम्पनीहरूबाट मलेसिया पुगेका करिव ९ सयभन्दा बढी नेपाली कामदारहरू अलपत्र परेका छन् । उनीहरू मलेसियाको बन्थरबारु सेलेङ्गर सेपाङ्गस्थित वेम्ली रबर प्रोडक्ट कम्पनीमा कार्यरत कामदार रहेको बताइएको छ ।
उदयपुरको रिस्कु गाविस- ७ का बासु पोखरेलले मलेसियाबाट दिएको जानकारीअनुसार कम्पनी सञ्चालक लि सोन होङले सम्झौतापत्रमा तोकिए अनुसारको तलव सुबिधा नदिई होस्टेल मर्मत, पानी, बिजुली बापत तलब कट्टा गर्ने गरेको बताउनुभयो । कम्पनी सञ्चालकले दुर्घटनामा परेका कामदारहरूलाई हालसम्म क्षतिपूर्ति पनि दिएको छैन ।
पोखरेलले काठमाडौं स्थित ईस्ट वेस्ट ओभरसिज प्रालि, भैरव इन्टरनेसनल सर्भिस प्रालि र हिमालय जब एक्प्लोरर प्रालिमार्फत उक्त कम्पनीमा पुगेको बताउनुभयो । नेपाली कामदारहरूले कम्पनी सञ्चालक होङसँग आफूहरू आर्थिक शोषणमा परेको गुनासो गर्दा सञ्चालकले मलेसियन प्रहरी प्रयोग गरी दैनिक कुटपिट र दुव्र्यवहार गर्ने गरेको पोखरेलले जानकारी दिनुभयो ।
कुटपिटबाट ६ भन्दा बढी कामदारहरू घाइते भएको उहाँले बताउनुभयो । कम्पनी सञ्चालकले सवै नेपाली कामदारलाई कम्पनी भित्रै थुनेर राखेको तथा सयौं नेपाली कामदारहरूको लत्ता कपडासमेत जलाइदिएको बताइएको छ । यसैगरी सोही कम्पनीमा कार्यरत एक नेपाली मजदुरलाई विगत १ महिनादेखि मलेसियन थुनामा राखेको बताइएको छ । उनको नाम खुल्न सकेको छैन । नियम अनुसारको सवै कर तिरिसक्दासमेत विभिन्न बहानामा तलव कट्टा गरिएपछि उनीहरूले विभिन्न ६ सूत्रीय मागसहित एक हप्ताअघि कम्पनीमा तालाबन्दी गरेका छन् ।
कम्पनीमा सिराहा, सप्तरी, धनुषा, उदयपुर जिल्लाका कामदारहरूको सङ्ख्या बढि रहेको छ । त्यहाँ नेपालीसहित भियतनाम, भारत, बङ्गलादेश, म्यानमार र इन्डोनिसियाका ५ हजार भन्दा बढी मजदुरहरू कार्यरत रहेको जनाइएको छ ।
